सामाजिक सञ्जाल विधेयक नियन्त्रण गर्न नभइ नियमन गर्न ल्याइएको हो : महेश बस्नेत

काठमाण्डौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपालमा केही भएन र भएको छैन भन्ने कुरा तथ्यसङ्गत नभएको बताउनुभएको छ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपालले आर्थिक र सामाजिक क्षेत्रमा निक्कै प्रगति गरेको बताउनुभयो। शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालको प्रगति लोभलाग्दो छ, तर भ्रम फिँजाउनेहरूले केही भएको छैन भन्ने प्रचार गरिरहेको उहाँले बातउनुभयो।

नेता बस्नेतले स्वास्थ्य क्षेत्रमा अहिले पनि केही विकृति रहेको बताउँदै त्यसमा सुधार गर्दै जानु पर्ने बताउनुभयो । कतिपय सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले निजी अस्पतालसँग सेटिङ गरेर सरकारी अस्पताललाई कमजोर बनाउने काम गरिरहेका बताउँदै बस्नेतले यसलाई सुधार गरेर जानु पर्नेमा जोड दिनुभयो।

नेपालको संविधानले नै नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य लगायतका अधिकार व्यवस्था गरेको उहाँले बताउनुभयो। त्यसैले यसलाई सम्बोधन गर्नु राज्यको दायित्व भएको बस्नेतले प्रष्ट पार्नुभयो।

अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर समाजमा भाँडभैलो मच्चाउने प्रयास गरिएको बताउँदै नेता बस्नेतले त्यसैलाई रोक्ने सकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याएको बताउनुभयो । अहिले केही अराजकहरू त्यसकै विरुद्ध उत्रिएका भन्दै उहाँले आलोचना गर्नुभयो ।

युवालाई देशमा रोजगारीको लागि प्राविधिक शिक्षामा जोड दिनु पर्ने उहाँको धारणा छ । त्यसकै लागि सिटिइभिटी, राष्ट्रिय युवा परिषद्, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका निकायहरू स्थापित भएका उहाँले स्पष्ट पार्नुभयो।

युवालाई २ करोडसम्म प्रमाणपत्र वा परियोजना राखेर ऋण दिने योजना सरकारले ल्याएको बस्नेतले बताउनुभयो। नेपालका बैङ्कले ठगलाई धरौटी राख्न पैसा दिने तर स्वरोजगारी गर्छु भन्ने युवालाई पैसा नदिने गरेका भन्दै उहाँले आलोचना गर्नुभयो।

नेता बस्नेतले युवा पुस्ताले धेरै विवेक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जाल हेरेर कुनै पनि विषयमा धारणा बनाउनु नहुने उहाँको धारणा छ। युवाले गलतलाई गलत र सहीलाई सही भन्नु पर्नेमा बस्नेतले जोड दिनुभयो।