
हमासले आज तीन जना इजरायली बन्धकलाइ रिहा गर्दै
हमास लडाकु समूहले आज गाजाबाट थप तीन जना बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी रहेका छन् ।
गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएपछि अहिलेसम्म हमासले १८ जनालाई मुक्त गरिसकेको छ ।
आज रिहा हुनेसहित हमासको कब्जाबाट मुक्त हुनेको सङ्ख्या २१ जना पुग्नेछ । तीन जनाको बदलामा इजरायलले १ सय ८३ जना प्यालेस्टाइनी कैदीबन्धीलाई रिहा गर्ने बीबीसीले जनाएको छ ।
तीन हप्ताको युद्धविराम अवधिमा पहिलो चरणअन्तर्गत हमासले ३३ जना बन्धक तथा इजरायलले झण्डै दुई हजार कैदीलाई मुक्त गर्ने भनिएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेर दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यसअघि पनि कतिपय रिहा भएका छन् । केहीको ज्यान गएको छ ।
नेपालका विपिन जोशी पनि हमासको कब्जामा रहेका ठानिएको छ । उनको रिहाइका लागि पहल भइरहेको छ । एजेन्सी