![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/16430073571643007357.jpg)
जिल्ला मालपोत कार्यालयका कर्मचारीले २ महिनादेखि तलब पाएनन्
लमजुङ । जिल्ला मालपोत कार्यालय लमजुङमा कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित भएको छ । नामसारी, घरजग्गासम्बन्धी अन्य काम एवम् आर्थिक कारोबारलगायत रोकिएको छ । कर्मचारीले पनि २ महिनादेखि तलब पाएका छैनन् ।
बेँसीशहर नगरपालिका–८ फुलबारी चोकमा रहेको कार्यालय प्रमुखविहीन हुँदा कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सकेका छैनन् ।
गएको मङ्सिरमा कार्यालय प्रमुखका रूपमा पुगेका भीष्मकुमार मल्ल पुस १४ गते नै सरुवा भएपछि पोखराबाट रामचन्द्र अधिकारीलाई प्रमुखका रूपमा तोकिएको थियो । तर अधिकारी अहिलेसम्म कार्यालय पुग्नुभएको छैन ।
त्यसअघि पनि पटक-पटक मालपोत कार्यालय प्रमुखविहीन भएको थियो । कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको निमित्त प्रमुख पूर्णबहादुर गुरुङले बताउनुभयो । निमित्त कार्यालय प्रमुखलाई आर्थिक एवम् महत्त्वपूर्ण कार्य गर्ने अधिकार प्राप्त छैन ।