मदन भण्डारी कलेज र प्रोस्टेट फाउण्डेशन नेपालबीच समझदारी पत्रमा हस्ताक्षर
सुप्रिया राई
काठमाण्डौ, माघ २४ । मदन भण्डारी मेमोरियल कलेज र प्रोस्टेट फाउण्डेशन नेपालबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजिसि)बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अवसरमा आज बिहीबार आयोजित स्वास्थ्य शिविरका क्रममा सो समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी र प्रोस्टेट फाउण्डेशन नेपालका अध्यक्ष श्री नारायण जी रौनियारले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । समझदारी पत्र हस्ताक्षरपछि दुवै संस्थाका अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको थियो । बैठकमा स्वास्थ्य शिक्षा, छलफल श्रृङ्खला तथा स्वास्थ्य शिविर विस्तार गर्ने विषयमा विशेष छलफल भएको थियो ।
प्रमुख डा. अधिकारीका अनुसार यस सम्झौताले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई प्रोस्टेटसम्बन्धी जनचेतना दिने अवसर प्रदान गर्नुका साथै, स्वास्थ्य सेवा तथा ज्ञान आदानप्रदानको साझेदारीलाई अझ मजबुत बनाउनेछ ।
यस अवसरमा कलेजले प्रोस्टेट फाउण्डेशन नेपालसँगको सहकार्यमा निःशुल्क पिसाब, मृगौला तथा प्रोस्टेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । वरिष्ठ यूरोलोजिष्ट डा. दीपक बाबु रौनियारले अभिमुखीकरण कार्यक्रमका दैरान सहभागीहरुसंग अन्तक्रिया गरि पुरुषहरुमा देखिने प्रोस्टेटसम्बन्धी समस्या र जिज्ञासाको उत्तर दिनुभएको थियो ।
त्यसबाहेक कान्तिपुर डेन्टल हस्पिटल समूहको सहकार्यमा निःशुल्क दन्त परीक्षण सेवासमेत प्रदान गरिएको थियो । सहभागीहरूले दन्त परीक्षण, परामर्श तथा आवश्यक जाँच सेवाहरू लिएका थिए । विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको डा.बाबुराम अधिकारीको विश्वास छ ।