१० वटा हिमाली जिल्लामा छात्रावास निर्माण हुन्छ : शिक्षामन्त्री भट्टराई
रसुवा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० वटा हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताउनुभएको छ । पूर्वी रसुवाको नौकुण्ड गाउँपालिकाको फाम्चेतमा गौतमबुद्व माध्यमिक विद्यालयको ४८औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले रसुवामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिनुभयो ।
ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताउनुभयो । सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र त्यो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उहाँले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोवास गरेका १ सय ५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने मन्त्री भट्टराईले आश्वासन दिनुभयो ।