चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

साहारा चितवन सहकारीको बचत रकम हिनामिनाको आरोपमा आज जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा रविसहित १५ जनाविरूद्व मुद्दा दायर गरेको हो ।

१५ जना व्यक्तिसहित ६ वटा संस्थाविरुद्ध पनि ठगी तथा संगठित अपराध अभियोगमा मुद्दा दर्ता भएको छ । १५ जना प्रतिवादीमा रवि लामिछाने छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।

सहकारीबाट ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।