सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छ: वनमन्त्री ठकुरी
काठमाण्डौ । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आइतवार विश्व सिमसार दिवस मनाएको छ ।
सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवद्र्धन गर्नका लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसाबले महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । उहाँले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पुर्याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताउनुभयो ।
मन्त्री ठकुरीले भन्नुभयो, ‘सिमसारसँग जोडिएका विभिन्न पारिस्थितीय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्छ । सिमसारको संरक्षण गर्न सकिएन भने विभिन्न समस्याहरु बढ्दै जान्छन् । जस्तै अहिले जलवायु परिवर्तनका कारणले जसरी समस्या सिर्जना हुँदै गएका छन् ।’
मन्त्री ठकुरीले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।