हमासले आज थप तीन जना इजरायली बन्धक रिहा गर्ने: आज छुट्ने सूचीमा नेपालका विपिन जोशी परेनन्
प्यालेस्टिनी समूह हमासले आज थप तीन जना बन्धक रिहा गर्ने भएको छ । इजरायल र प्यालेस्टिनी लडाकु समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान हुने भएको हो ।
आज रिहा हुन लागेका इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसपटक पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी सूचीमा परेका छैनन् ।
आज सार्वजनिक हुने सबै जना जीवित इजरायली पुरूष बन्धक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकु समूहले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले दुई सय ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
हमासले अस्ति बिहिवार पनि तीन इजरायली बन्धक र पाँच जना थाई बन्धकलाई रिहा गरेको थियो । त्यसअघि चार इजरायली महिला सैनिकसहित ७ जना रिहा भएका थिए ।
हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका झण्डै १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् ।
युद्धविरामको दोस्रो चरणको वार्ता पहिलो चरण सुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।