अमेरिकी एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान चल्दै
अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड ( एनटीएसबी ) ले वाशिङ्गटन डीसी नजिकै हिजो भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।
एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटनाबारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि गर्न केही समय लाग्ने बताएका बीबीसीले जनाएको छ । प्रारम्भिक प्रतिवेदन ३० दिनमा जारी गरिने खबरमा उल्लेख छ ।
अहिलेसम्म कुनै उडान डाटा रेकर्डर अर्थात ब्ल्याक बक्स पनि फेला नपरेको अनुसन्धानकर्ताले बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसी हवाई दुर्घटनाको कारण अझै थाहा नभएको र जाँच चलिरहेको बताउनुभएको थियो ।
उहाँले पत्रकार सम्मेलनमार्फत अनुसन्धान अधिकारीहरुले हवाई दुर्घटनामा कोही पनि जीवित नरहेको हुनसक्ने अनुमान लगाएका जानकारी दिनुभएको छ ।
हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।
विमानमा ६४ जना र हेलिकोप्टरमा ३ जना रहेका थिए । अहिलेसम्म ३० जनाको शव फेला परेको आधिकारिक पुष्टि भएको छ ।