ओखलढुङ्गामा सुमो दुर्घटना हुदा ३ जनाको मृत्यु
खोटाङ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौ जादै गरेको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।
बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाण्डौ लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सुमो राति नै दुर्घटना भएको आँकलन गरिएको छ । हिजोराति करिब ११ बजेको समयमा च्यास्मिटार प्रहरी बिटले रोक्न अनुरोध गर्दा पनि नरोकी सुमो तीव्र गतिमा गएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।