ल्होछार पर्व तामाङ संस्कृतिकै अभिन्न अङ्ग : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होछारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

सोनाम ल्होछार पर्वको शुभारम्भ कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताउनुभयो ।

उहाँले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउनुुहुँदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गर्नुभयो ।