‘विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी’: उपप्रधानमन्त्री सिंह

काठमाण्डौ। उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

काठमाण्डौमा आज अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्‍यो भने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने जानकारी दिनुभयो । उहाँले अस्वस्थ प्रतिस्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताउनुभयो । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको जानकारी दिनुभयो ।

तस्बिर : न्यूज एजेन्सी