तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु , भोलि मौसम बदलीको सम्भावना
काठमाण्डौ । काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा तथा तराईका केही ठाउँमा दिउँसो हुस्सु हट्ने तर तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने मौसमविद् गोविन्द झाले बताउनुभयो ।
उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा आज मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
भोलि बिहीवार भने पश्चिमी क्षेत्रबाट मौसम बदली भई धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।