नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ

काठमण्डौ । नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हिजो भक्तपुर दरबारस्क्वायरमा भ्रमण वर्ष शुभारम्भ भएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध बिस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको जानकारी दिनुभयो ।

अहिले शुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने मन्त्री खड्काको विश्वास छ । नेपालका लागि चिनियाँ राजदूत सङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताउनुभयो ।

नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उहाँले नेपाल–चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायत क्षेत्रमा भइरहेका सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौँपुस्तादेखिको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको उल्लेख गर्नुभयो । दुई देशबीच भएका सहमति कार्यान्वयनको सिलसिलामा भ्रमण वर्ष २०२५ आयोजना गरिएको राजदूत सङले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको भन्दै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाच प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक र्‍याली आयोजना गरिएको थियो ।