‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने
काठमाण्डौ । कम्प्युटर एसोसिएशन अफ नेपाल, महासङ्घ (क्यान) को आयोजनामा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण यही माघ २४ देखि काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ ।
नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधिलाई व्यापक रूपमा समेटिने क्यानले जनाएको छ ।
क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासँगै मुख्य प्रायोजक, मुख्य सहकार्य, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजकका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ ।
सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासङ्घका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासङ्घका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताउनुभयो ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिने उहाँले बताउनुभयो ।
प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास छ ।