चिसोमा बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौ । चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो ।

बाथरोग प्रायः वंशाणुगत कारण, सङ्क्रमण तथा तनावका कारणले देखा पर्न सक्छ । बाथरोग विशेषज्ञ डा।कृष्ण अधिकारीका अनुसार चिसोका कारणले जोर्नी सुन्निने, फुल्लिने र दुखाइ बढ्ने समस्या हुन्छ । तर यस्ता सबै लक्षण बाथरोग नभएको उहाँले बताउनुभयो ।

बाथरोग भएको अवस्थामा हात निलो, फुस्रो, रातो हुने, तथा घाउ आउने लक्षणहरू देखिन्छन् । भिटामिन ‘डी’ को कमीले पनि दुखाइ हुन सक्ने भएकाले समयमै जाँच गराउन उहाँको सुझाव छ ।

बाथरोगको दुखाइ प्रायः साँझ, राति वा बिहान बढी हुने र दिन ढल्दै जाँदा कम हुँदै जाने डा।अधिकारीले बताउनुभयो । उहाँका अनुसार यदि जोर्नी सुन्निने, फुलिने र मुठ्ठी पार्न कठिन हुने समस्या छ भने बाथको लक्षण हो भनेर बुझ्नुपर्छ ।

जोर्नी दुखाइसँगै कपाल झर्ने, आँखा पोल्ने, सुख्खा हुने, ज्योति कम हुने तथा गाला रातो हुने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु पर्छ । बाथरोगबाट बच्न हातखुट्टा न्यानो राख्न, मोजा र पञ्जा लगाउन तथा प्रदूषण र सङ्क्रमणबाट बच्न डाक्टरको सुझाव छ ।