साना–मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू गरेको छ ।

नियमावली अनुसार बढीमा २५ करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले अब आईपीओ जारी गर्न पाउने छन् । कम्पनीले जारी पूँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी शेयर निष्कासन गर्न सक्ने नियमावलीमा उल्लेख छ । यसरी जारी भएको आईपीओमा सर्वसाधारणले न्यूनतम ५ सय कित्ताका दरले आवेदन दिन पाउनेछन् । ५ सय कित्ताभन्दा कम आवेदन दिन पाइने छैन ।

सर्वसाधारणलाई आईपीओ खुलाउनुअघि मर्चेन्ट बैंकरले ५ प्रतिशत र संस्थागत शेयरधनीले १५ प्रतिशत शेयर खरिद गरेको हुनुपर्नेछ । यस्ता लगानीकर्ताको लकइन पिरियड तीन वर्षको हुनेछ । अर्थात् तीन वर्षपछि मात्रै उनीहरूले शेयर बिक्री गर्न पाउनेछन् ।

नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज तथा सीडीएस एन्ड क्लियरिंगलाई पत्राचार गरिएको धितोपत्र बोर्डले जनाएको छ । शेयर निष्कासनका लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । साना तथा मझौला कम्पनीले आईपीओ जारी गर्नुअघि रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । तर रेटिङ नगरी पनि शेयर निष्कासन गर्न सक्नेछ ।