भोजपुरको पौवादुङमा पत्रु खानेकुरा बेचबिखनमा रोक

भोजपुर । भोजपुरको पौवादुङमा पत्रु खानेकुरा बेचबिखनमा रोक लगाइएको छ । दोस्रो पौवादुङ गोल्ड कप र वृहत् माघी मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ ।

मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक,इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ ।

त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ । प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना (जङफुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।रासस