सुदूरपश्चिममा वर्षा, तराईमा हुस्सु स् राम्रोसँग घाम नलाग्दा चिसो बढ्यो
काठमाण्डौ । पश्चिम न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि देशभर मौसम बदली भएको छ ।
गण्डकी प्रदेशदेखि पश्चिममा मौसम पूर्ण रुपमा बदली रहेको र काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
तराईका धेरै ठाउँमा हिजो, अस्तिजस्तै हुस्सु लागेको छ । राम्रोसँग घाम नलाग्दा देशभर नै चिसो बढेको छ ।
आज पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे महशाखाले जनाएको छ । यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशको तराईका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो विस्तारै हट्दैछ । बाँकी तराई भूभागका केही ठाउँहरुमा लागेको हुस्सु र कुहिरोमा पनि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस