छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका
तनहुँ । आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।
गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा पुगेर छात्राहरुका लागि खाता खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आँबुखैरेनी गाउँपालिका–५ लाब्दीस्थित अरुणोदय प्राथमिक विद्यालयमा माघ ३ गते, सोही वडाको खेउसिङस्थित कामधेनु प्राविमा माघ ४ गते, सोही वडाको सानोभञ्ज्याङस्थित इन्द्रदेव आधारभूत विद्यालयमा माघ ४ गते, आँबुखैरेनी गाउँपालिका–६ प्यूघरफाँटस्थित लक्ष्मी माविमा माघ ४ गते विद्यार्थीको खाता खोलिनेछ ।
खाता खोल्नका लागि विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, विद्यार्थीको अभिभावकको नागरिकताको प्रतिलिपि, अभिभावकको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाइएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलो पटक छात्रा बचत कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई १ हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने कार्यक्रम छ ।
कक्षा १ देखि १० सम्मका छात्राहरुको बाल बचत खाता खोलेर १ हजार जम्मा गरिदिनेभएको छ । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको उहाँले बातउनुभयो । छात्राको नाममा खोलिएको सो खातामा कुमारी बैंकले २० हजार बराबरको स्वास्थ्य बिमाको सुविधा दिने जनाएको छ । यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्ने चुमानले बातउनुभयो ।
यसअघि नै गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रुपमा अगाडि बढाएको हो । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको शिक्षक नियुक्ती, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।
आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालयहरु छन् । ती विद्यालयमा करिब ४ हजार बढी विद्यार्थी अध्ययनरत छन् । रासस