१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो ।
मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कप्तान पूजा महतो १० रनमा आउट हुँदा अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालले जीतका लागि दिएको ५९ रनको सामान्य लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि रिया शर्माले तीन विकेट लिइन् ।
नेपाल पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नाै रनले पराजित भएको थियो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप यही माघ ५ देखि २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।