दक्षिण कोरियाका निलम्बित राष्ट्रपति येओल पक्राउ गर्ने तयारी

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरुले फेरि प्रयास गरिरहेका छन् ।

अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनीहरुले पक्राउ गर्न फेरि प्रयास गरिरहेका बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा सैनिक शासन ल्याउने ‘मार्शल ल’ लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको आरोपमा उनीमाथि महाअभियोग लगाइएकाले अनुसन्धान भइरहेको छ ।

अनुसन्धानको क्रममा येओललाई पक्राउ गर्न यसअघिको पहिलो प्रयास असफल भएपछि दोस्रो पटक तयारी भएको हो । पहिलो प्रयासमा येओलको समर्थकले अवरोध गरेका थिए ।

अहिले पनि दक्षिण कोरियाका अधिकारीहरु येओलको निवासमा उनलाई पक्राउ गर्न भन्दै पुगेपछि ठूलो सङ्ख्यामा उनका समर्थक र आलोचक दुवै जम्मा भएका छन् । झण्डै हजार जना प्रहरी अधिकारीहरू पनि तैनाथ गरिएको खबरमा उल्लेख छ ।

केही प्रदर्शनकारी र प्रहरीबीच बिहानै झडपसमेत भएको छ । पक्राउमा अवरोध हटाउन पहिला येओलका सुरक्षा महाशाखाका प्रमुखलाई पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको छ ।

यसैबीच राष्ट्रपति येओलको महाअभियोग प्रस्तावमा संसदमा हिजोदेखि छलफल शुरू भएको छ । यस छलफलले उनलाई पदबाट हटाउने वा नहटाउने निस्कर्ष दिने छ । तर उनको अनुपस्थितिका कारण चार मिनेटमा हिजाको छलफल सकिएको थियो । उनको तर्फबाट वकिलले मात्र बोलेका थिए ।