अमेरिकामा बाक्लो हिमपात र उग्र डढेलो

काठमाण्डौ। संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा त्यहाँको जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दस जनाको ज्यान गएको छ । हिमपातको असरले निम्त्याएको दुर्घटनामा परी दुई जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । डढेलोले धेरै अमेरिकी नागरिक विस्थापित भइसकेका छन् । अझै हुने क्रममा छन् । गत साता आएको शक्तिशाली हिमआँधीपछि राजधानी वासिङ्टन डिसी, न्युयोर्क, पेन्सिलभेनिया, भर्जिनिया, मेरिल्यान्ड, मिसिसिपी, केन्टकी, मिसौरीलगायतका सहरमा भारी हिमपात भएको सञ्चार माध्यमले जानकारी दिएका छन् ।

अत्यधिक चिसोका कारण त्यहाँको जनजीवन ठप्प जस्तै बनेको छ । सडक, पहाड, नदी, तलाउ, घर, चउर जताततै ठुला हिउँका थुप्रा छन् । हिमआँधी केही मत्थर भए पनि थुप्रिएका हिउँले अत्यधिक चिसो बढाएको सिएनएनले जनाएको छ ।

यही समयमा एउटा कार पोखरीमा डुब्दा दुई जना नेपाली नागरिकको ज्यान गएको छ । भर्जिनियाको स्यानटिली सहरस्थित एक पोखरीमा कारसहित डुबेका ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्टको चिसोका कारण मृत्यु भएको जनाइएको छ । बिहीबार बिहान दुवै जना सवार रहेका बेला कार हिउँमा चिप्लिएर पोखरीमा डुब्न पुगेको अनुमान गरिएको छ । उद्धार टोली पुगेर बाहिर निकाल्दा दुवै जनाको मृत्यु भइसकेको पाइएको थियो । खड्का भर्जिनियामै काम गर्थे भने भट्ट कामका लागि आवेदन दिने क्रममा भट्टसँग त्यहाँ पुगेको जनाइएको छ । पूर्वी अमेरिकामा बाक्लो हिमपातका कारण ६० लाखभन्दा बढी मानिस प्रभावित बनेका छन् । यस पटक भएको हिमपात दशककै ठुलो हिमपात मानिएको छ । माइनस दस डिग्रीभन्दा तलको तापमान भएकाले पनि आम नागरिकले सास्ती भोग्नु परेको छ ।

उता लस एन्जलस र आसपासका क्षेत्रमा फैलिएको डढेलो थप भयानक बन्दै गएको छ । डढेलोमा परेर मर्नेहरूको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । १० औँ हजार मानिसलाई घर खाली गर्न अमेरिकी सरकारले आदेश दिएको छ । सुरुवाती डढेलो नियन्त्रणमा आउँदै गर्दा बढेको हावाहुरीले त्यसलाई अन्य प्रान्तमा समेत फैलायो । पालिसेड्स क्षेत्रमा १० हजारभन्दा बढी भौतिक संरचना डढेलोले ध्वस्त बनाएको छ । दूषित हावा र वातावरणका कारण अन्य क्षेत्रको जनजीवन उच्च प्रभावित बनेको जनाइएको छ । लस एन्जलसका काउन्सिल सदस्य ट्रेसी पार्कले डढेलो थप डरलाग्दो बनेको भन्दै यस क्षेत्र हालसम्मकै विनाशकारी भएको जानकारी सञ्चार माध्यमलाई दिनुभएको छ ।

राष्ट्रपति जो बाइडेनले डढेलो र हिमपात प्रभावितलाई रहत, उद्धार तथा सुविधा प्रदान गर्न आफ्नो प्रशासनिक निकायलाई सक्रिय बनाउनुभएको जनाइएको छ । कार्यकाल सकिनै लाग्दा देशमा आइपरेको विपत्लाई सम्बोधन गर्न उहाँले विदेश भ्रमणसमेत स्थगित गरेर नागरिकको समस्या सम्बोधनमा लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।