टीकापुर जग्गा हिनामिनामा पदाधिकारी, कर्मचारी र जग्गाधनीसहित ८७ जना दोषी ठहर

काठमाण्डौ । कैलाली टीकापुरको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारी र जग्गाधनी गरी ८७ जनालाई दोषी ठहर गरेको छ । अदालतले ११ जना पदाधिकारी तथा कर्मचारी र ७६ जना जग्गाधनीलाई दोषी ठहर गरी सजाय सुनाएको हो ।

अदालतले टीकापुर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी र संयोजक गणेश सिंह रावललाई मुख्य दोषी ठहर गरेको छ ।

उनीहरूले बदनियतपूर्वक किर्ते प्रमाण राखेर आवेदन गर्ने प्रथम तहका खरिदकर्ता व्यक्तिको नाममा जग्गा दाखिला गर्न सिफारिश गरेको अदालतले ठहर गरेको छ । जोशी र सिंह रावललाई एक वर्ष ६ महिना कैद र जनही १३ लाख ७ हजार तीन सय रूपैयाँ जरीवानाको सजाय सुनाइको छ ।

यस्तै समितिका सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई तीन महिना कैद र १३ लाख ७ हजार तीन सय रूपैयाँ दामासाहीले जरीवाना ठहर गरिएको छ । अरुको हकमा तीन महिना कैद र जग्गा अनुसारको जरीवाना तोकेको छ ।

जग्गा पनि जफत गरी समितिकै कायम हुने ठहर गरेको छ । टीकापुर विकास समितिको नामबाट नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघमा मुद्दा दायर गरेको थियो ।