लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला धरौटीमा रिहा
विराटनगर । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ ।
बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी थिइन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
यस अघि यस प्रकरणमा मुछिएका वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।