तिब्बतमा गएको भूकम्पको क्षतिप्रति पूर्व राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार जनवादी गणतन्त्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा भएको भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा दुःख प्रकट गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत भूकम्पका कारण पुगेको क्षतिमा चीनका राष्ट्रपति सी जिनपिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नु भएको छ, ”मित्र राष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान गएको शक्तिशाली भूकम्पका कारण ठूलो संख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएकोमा म स्तब्ध भएको छु ।
दुःखको यस घडीमा चीनका महामहिम राष्ट्रपति सी चिन फिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।”

साथै उहाँले दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा रहेको पनि बताउनु भएको छ । छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्र राष्ट्र चीनलाई सफलता मिल्ने पूर्ण विश्वास लिएको भण्डारीले भन्नु भएको छ ।

नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा मंगलबार बिहान ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।