अमेरिकामा हिमपात र हिमआँधीका कारण पाँच जनाको मृत्यु
काठमाण्डौ । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु भएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।
मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कान्सासमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरीकी अधिकारीहरूले स्थानीयवासीहरूलाई प्रभावित क्षेत्रमा गाडी नचलाउन आग्रह गर्दै आएका छन् । चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ ।
अमेरिकाको सात राज्यहरु मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भएसँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस हिजो बेलुकादेखि प्रभावित भएका छन् । खराब मौसमका कारण दुई हजारभन्दा धेरै उडानहरू रद्द भएका छन् भने झण्डै ६ हजार पाँच सय उडानमा ढिलाइ भएको खबरमा उल्लेख छ ।
मौसमविद्हरूका अनुसार हिमपात र चिसो हावा अझै केही हप्तासम्म देशको केही भागमा रहिरहने अनुमान छ । वासिङ्टन डीसीको मेरील्याण्ड र भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ ।