ईसीडीको समस्या समाधान गर्न काम भइरहेको छ : शिक्षामन्त्री भट्टराई (भिडियोसहित)

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रारम्भिक बालविकास (ईसीडी) को समस्या समाधान गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ ।

शिक्षा सुधारका लागि काठमाडौँको माइतीघर मण्डलामा उभिएर आन्दोलन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलाई सोमबार भेट्दै मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।

उहाँले ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको बताउनुभयो। मन्त्री भट्टराईले दरबन्दीबारे पनि पुनरावलोकन भइरहेको बताउनु भयो ।

पालिकाको शिक्षा योजनाविना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउँदै उहाँले हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपद्मा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको जानकारी दिनु भयो ।

मन्त्री भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै चापागाईँले आन्दोलन स्थगित गरेका छन्। चापागाईँले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेका थिए।

भिडियो