डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि नै अमेरिकाले इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने
एजेन्सी । अमेरिकाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि नै इजरायललाई ८ अर्ब डलरको हतियार पठाउने भएको छ । यी हतियार ढुवानीका लागि सरकारले संसद् अर्थात् कांग्रेसलाई जानकारी गराएको बीबीसीले जनाएको छ ।
हतियारको ढुवानीका लागि सदन र सिनेट समितिको स्वीकृति आवश्यक पर्छ । राष्ट्रपति जो बाइडेनले पद छोड्नुभन्दा दुई हप्ताअघि यो निर्णय लिइएको र ट्रम्पले सत्ता सम्हाल्नुअघि नै हतियार इजरायल पुर्याइसक्ने योजना रहेको खबरमा उल्लेख छ ।
इजरायलले गाजामा निशस्त्र मानिसको हत्या गरेर मानव अधिकारको हनन र युद्ध अपराध गरिरहेको भन्दै इजरायलमा हतियार नपठाउन संसारका धेरै देशले आग्रह गरेका छन् । तर अमेरिकाले भने यस्ता आग्रहको बेवास्ता गर्दै इजरायललाई हतियार पठाइरहेको छ ।
गएको वर्षको अगस्टमा अमेरिकाले इजरायललाई २० अर्ब डलर बराबरको युद्ध विमान र अन्य सैन्य उपकरण बिक्री गर्न स्वीकृति दिएको थियो । अब पठाउन लागेका हतियारमा एअर–टु–एअर मिसाइल, हेलफायर मिसाइल, तोपका गोला र बमहरू समावेश छन् ।
इजरायललाई अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनअन्तर्गत आफ्ना नागरिकको रक्षा गर्ने अधिकार भएकाले हतियार पठाउन लागिएको अमेरिकी जिकिर छ । इरान र यसका गठबन्धनहरूको आक्रमणको जवाफ दिन इजरायललाई हतियार बिक्री गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
इजरालले आफूलाई चाहिने हतियारमध्ये ६९ प्रतिशत हतियार अमेरिकाबाट किन्दै आएको छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजारायलमा आक्रमण गरेयता इजरायलले गरिरहेको आक्रमणमा झन्डै ४६ हजार जना नागरिकको ज्यान गइसकेको छ । गाजा लगभग ध्वस्त भइसकेको छ ।