२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाण्डौ – किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

एक्काइसौं शताब्दी : के सोचिरहेको छ र के लेखिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर सिर्जना पठाउन नेपालयले आह्वान गरेको हो । स्थापनाको २५ वर्ष पुगेको अवसरमा नयाँ पुस्ताका लेखक पहिचान गर्न यस्तो आह्वान गरिएको नेपालयले जनाएको छ ।

सङ्कलित सिर्जनाबाट सन् २०२५ भित्र कथा, कविता र निबन्ध तीनवटै विधामा फरक फरक पुस्तक प्रकाशन गर्ने नेपालयले जनाएको छ । निर्णायक समितिले तीनवटै विधामा २५ वटा रचना छान्नेछ । छनोटमा परेका रचना पुस्तकका रूपमा प्रकाशित हुनेछन् ।

पुस्तकमा समेटिएका रचनाका लेखकलाई रोयल्टी दिने व्यवस्थासमेत गरिएको नेपालयले जनाएको छ । नेपालयका अनुसार सबै भाषामा आफ्नो सिर्जना पठाउन सकिनेछ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग भएका रचना मान्य नहुने र रचना दुई हजार ५०० शब्दमा सीमित हुनुपर्ने नेपालयले जनाएको छ ।