उच्च शिक्षामा महिलाको पहुँच बढाउन मधेश प्रदेशमा छोरीलाई छात्रवृत्ति

रासस । मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको हो ।
यो छात्रवृत्तिमा मधेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले अवसर पाउने मधेश प्रदेशको शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका छोरी र जेहेन्दार छात्रालाई उच्च शिक्षामा सहुलियत पु¥याउन छोरी छात्रवृत्ति योजना बढाइएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय भई अघि बढेको यससम्बन्धी प्रक्रिया अब प्रदेश शिक्षा निर्देशनालयले अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो । यो अवसर प्रदेशका आठवटै जिल्लाका चार समूहमा विभाजन गरिएका छात्राले पाउनेछन् ।
यी चार समूहमा दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रा पर्नेछन् ।

यो छात्रवृतिका लागि पर्याप्त आवेदन प्राप्त भएका र अब तिनको छनौट चरण सुरु भएको प्रदेश शिक्षा निर्देशनालयका निमित्त प्रमुख ठूलोबाबु दाहालले जानकारी दिनुभयो । निर्देशनालयले गत मङ्सिरमै यससम्बन्धी सूचना गरेर आवेदन आह्वान गरेको थियो । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ ।