चीनका सरकारी ह्याकरले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली चीन सरकारद्वारा सञ्चालित ह्याकरले ह्याक गरेको आरोप लगाएको छ । ह्याकरले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डिसेम्बरको शुरूमा यो घटना भएको थियो । ह्याकिङको बारेमा ट्रेजरी डिपार्टमेन्टले सांसदहरूलाई जानकारी दिँदै पत्र लेखेको पनि खुलेको छ । शङ्कास्पद गतिविधि पहिलो पटक डिसेम्बर २ मा देखिएको थियो तर कम्पनीलाई यो ह्याक हो कि होइन भनेर पत्ता लगाउन तीन दिन लागेको थियो ।

ह्याकरहरूले तीन दिनमा केही खाताहरू अदलीबदली गर्न र पासवर्डहरू परिवर्तन गर्न सक्षम भएका थिए । ह्याकरहरूले रकम चोरी गर्ने प्रयास गर्नुको सट्टा प्रणालीमा भएका जानकारी खोजिरहेका पाइएको छ ।

अमेरिकी एजेन्सीले ह्याकिङको यो घटनालाई गम्भीर रूपमा लिएको र सङ्घीय जाँच ब्युरो (एफबीआई) सहित अरू एजेन्सीसँगको सहकार्यमा अनुसन्धानको काम भइरहेको जनाएको छ ।

वाशिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै चीनलाई बदनाम गराउने षड्यन्त्रका रूपमा यो हल्ला फैलाएको आरोप लगाउनुभएको छ । कुनै तथ्यगत आधारविना चीन सरकारमाथि आरोप लगाउनु गलत भएको चिनियाँ दूतावासले जनाएको छ ।