तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थाल्यो, जनजीवन प्रभावित

काठमाण्डौ । तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराई मधेसका धेरै ठाउँ र काठमाण्डौ उपत्यकाको केही ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको कुहिरो केहीबेरमा हटेर दिउँसो घाम लाग्दै जाने तर तराईमा अबेरसम्म रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

कुहिरोसँगै चिसो स्याँठ पनि चल्न थालेको तराईका क्षेत्रमा स्थानियवासीको दैनिकीमा समस्या हुन थालेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताउनुभयो ।

चिसोले चौपाया, पशुपन्क्षी तथा बालीनालीलाई पनि असर पुर्‍याएको छ । चिसोकै कारण अस्पतालमा बिरामीको सङ्ख्यामा बढ्न थालेको छ ।

चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित हुने भएकाले ख्याल गर्नुपर्ने डा।रवीन्द्र साहले बताउनुभयो । तराईमा चिसोसँगै शीतलहरबाट विगतमा कतिपयले ज्यान गुमाउने गरेका थिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष अहिलेसम्म आधिकारिक रुपमा शीतलहर चलिसकेको पुष्टि गरेको छैन ।

आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।