सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउँछौँ : महासचिव पोखरेल
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पाखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
एमाले दाङ प्रचार तथा प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताउनुभएको हो ।
संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको महासचिव पोखरेलले बातउनुभयो । तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताउनुभयो ।
यस्तै, नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै पोखरेलले राजनीति घाम छाँया नरहेको स्पष्ट पार्नुभयो । सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको दाबी गर्दै महासचिव पोखरेलले निरासा चिर्दै समृद्ध मुलुकको संकल्प पूरा गर्ने दिशामा सरकार लागिपरेको बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गर्दै विगतमा धेरै सुधार भएको, राजश्व संकलन बढेको महासचिव पोखरेलले बातउनुभयो । विगतमा भन्दा १७ प्रतिशतले राजश्व संकलन बढेको २ महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै गरेको मौद्रिक तरलतालाई व्यवस्थित गर्नुपर्ने उहाँले बातउनुभयो ।
सरकारले लगानीको वातावरण निर्माण गर्नेगरी भूमिका बढाएको बताउनुभयो । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नभएको सरकारमा रहेका दुई दल चुनौतिको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर अघि बढेको संकट समाधान गर्न सरकार संवेदनशील भएको महासचिव पोखरेलले बातउनुभयो ।
दाङको विकास निर्माणले गति लिएको भन्दै नेपालको आफ्नै स्रोतबाट फोरलेन सडक विस्तारको काम सुनिश्चित भएको महासचिव पोखरेलले बातउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन भूमिका बढेको छ । चारसय बेडको नयाँ अस्पताल बनाउने योजना अघि बढेको,तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई विस्तार गर्ने काम अघि बढेको र लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको उहाँले बातउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता क्षेत्रमा उत्पन्न विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै मर्यादित पत्रकारिताका लागि महासंघ लागिपर्ने बताउनुभयो । सदस्यता शुद्धीकरणका नाममा महासंघको संस्थागत संरचना कमजोर भएको भन्दै सचिव प्रियासनले सबै समस्या समाधान गर्नका लागि महासंघ नेतृत्वले सफलता प्राप्त गर्ने दाबी गर्नुुभयो ।
प्रचार तथा प्रसार विभाग प्रमुख संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी, कार्यसमिति, राष्ट्रिय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव किरण गौतमले गर्नुभएको थियो ।