सरकारी स्वामित्वमा रहेका सङ्घ-संस्थालाई कर तिर्न काठमाण्डौ महानगरको पत्राचार
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घ–संस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घ–संस्थालाई कर तिर्न पत्राचार गरेको छ ।
पहिलो चरणमा पत्र पठाइएका सङ्घ–संस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड छन् । यी कम्पनीलाई सम्पत्ति कर र बहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।
संविधानको धारा ५७ ९४० तथा अनुसूची ८ अनुसार घर बहाल कर सङ्कलन गर्ने विषय स्थानीय तहको एकल अधिकारअन्तर्गत पर्छ । संविधानको धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा त्यस्तोमा गाउँपालिका वा नगरपालिकाको बहाल कर लाग्नेछ भन्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम काठमाण्डौ महानगरपालिकाभित्रका बहाल आयमा लाग्ने कर महानगरले मात्र सङ्कलन गर्न सक्छ ।
यससँगै अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ३ ९३० र अनुसूची ३ ले स्थानीय तहले स्थानीय कानूनबमोजिम घर बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ । महानगरले जारी गरेको राजस्व ऐन २०७५ को परिच्छेद ४, आर्थिक ऐन, तथा घर बहाल व्यवस्था निर्देशिका २०७९ ले आफ्नो क्षेत्रभित्रका व्यक्ति वा संस्थाले बहालमा लगाएको भवन, घर वा जग्गाको बहाल कर उठाउनेसम्बन्धी व्यवस्था छ ।
बहाल व्यवस्था गर्न काठमाण्डौ महानगरको नगरसभाले नेपालको संविधानको धारा २२६ को उपधारा ९१० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम महानगरको राजस्व ऐन २०७५ जारी गरेको छ । संविधानको धाराबमोजिम नगरसभाले जारी गर्ने सालवसाली आर्थिक ऐनले तोकेको दररेटमा रहेर सबै करदातासँग बहाल आम्दानीमा बहाल कर लगाउँदै आएको छ ।