त्रिभुवन विश्वविद्यालयले आज ५०औं दीक्षान्त समारोह मनाउँदै
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आज ५०औं दीक्षान्त समारोह मनाउँदैछ । यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउन लागिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दीक्षान्त समारोहमा यस पटक १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन् । गएको वर्षभन्दा यस पटक दुई हजार जनाभन्दा धेरै विद्यार्थी दीक्षित हुन लागेका परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तरतर्फ पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि ९पीएचडी० तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् । सर्वोत्कृष्ट नतिजा ल्याउने २२ जना विद्यार्थीलाई पदक र पुरस्कार प्रदान गरिँदैछ । पदक र पुरस्कार पाउनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ । २२ पदक र पुरस्कारमध्ये १७ वटा छात्रा र पाँच वटा छात्रले पाउने त्रिविले जनाएको छ ।
दीक्षान्त समारोहमा सहभागी हुनेहरूका गाडी पार्किङका लागि विभिन्न तीन ठाउँ तोकिएका छन् । विद्यार्थी र अभिभावकहरूका गाडी सैनिक मञ्च टुँडिखेल तथा अतिथि, शिक्षक कर्मचारीहरूका गाडी परराष्ट्र मन्त्रालयको कन्सुलर शाखा कार्यालयको हाताभित्र र शिक्षक कर्मचारीका गाडी वर्ल्ड ट्रेड सेन्टरको पार्किङ स्थलमा व्यवस्था गरिएको छ ।
देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि अर्को वर्षदेखि समारोहको विधि परिवर्तन गर्ने त्रिविले जनाएको छ । अब ६र६ महिनामा वा सङ्कायगत रूपमा समारोह आयोजना गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।
त्रिविमा चार लाख ५० हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । व्यवस्थापन, मानविकी, कानून र शिक्षा गरी चार वटा सङ्काय तथा चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि तथा पशु, वनविज्ञान र विज्ञान प्रविधि गरी पाँच वटा अध्ययन संस्थानबाट गरी यस वर्ष ७४ हजार जना विद्यार्थी उत्तीर्ण भएका छन् ।