सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात सुरु
काठमाण्डौ । मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात सुरु भएको छ ।
गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात सुरु भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भरे बेलुकासम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हिजोदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । आज देशका धेरै ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ ।
विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ । वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।