इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण गराउन विभागको आग्रह

काठमाण्डौ । वैदेशिक रोजगार विभागले इजरायल जान छनोट भएका कामदारलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ । इजरायल र नेपाल सरकारबीच भएको श्रम सम्झौतानुसार चिट्ठा प्रणालीबाट छनोट भएका सहायक कामदार अर्थात् (केयर गिभर) लाई स्वास्थ्य परीक्षण गराउन विभागले सूचना निकालेर अनुरोध गरेको हो ।

यही पुस १७ गतेदेखि २३ गतेसम्म विभागले तोकेका पाँच वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामङ्गल तोकिएका छन् ।

इजरायले नेपालबाट दुई हजार केयर गिभर लैजान लागेको छ । पहिलो चरणमा एक हजार जना र त्यसपछि बाँकी वैकल्पिकमा रहेका एक हजार जनालाई लैजाने तयारी छ ।