चिसो र शीतलहरबाट जोगिन विपद प्राधिकरणको अनुरोध
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बेलुकादेखि मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागले हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने र देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुने जनाएको छ ।
विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा गण्डकी प्रदेश र कोशी प्रदेशका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
साथै भोलि पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।