विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।

आज काठमाण्डौमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको औंल्याउनुभयो । उहाँले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्नुहुँदै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

उहाँले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने जानकारी दिनुभयो । उहाँले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताउनुभयो ।