विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ बन्दै

काठमाण्डौ । सरकारले विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ निर्माण थालेको छ । विपद् व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पुनर्निर्माणको कामलाई द्रुत र प्रभावकारी बनाउन एकीकृत रूपमा काम गर्ने गरी पुनर्लाभ कार्ययोजना निर्माण थालेको हो ।

अहिलेसम्म पुनर्निर्माणको काम शुरू हुन नसकेको भूकम्प गएको क्षेत्र पश्चिम नेपालको जाजरकोट, डोटी, बझाङलगायत जिल्लामा प्राथमिकीकरण गरेर यही पुस मसान्तदेखि नै कुनै एक ठाउँबाट पुनर्निर्माण कार्य अघि बढाउने गरी योजना निर्माण थालिएको प्राधिकरणका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो । अहिलेसम्म उद्धार, राहत तथा अस्थायी आवासका काममा केन्द्रित भएको र त्यो काम सम्पन्न भएकाले अब पुनर्निर्माणलाई तीव्रता दिन लागेको उहाँले बताउनुभयो ।

प्राधिकरणका अनुसार स्थायी आवासका लागि रकम कति दिने भनेर निर्णय हुन लामो समय लागेको थियो । प्राधिकरणले पुनर्निर्माणमा रकम कति दिने भनेर निधो गर्ने प्रस्ताव मन्त्रिपरिषद‍्मा पेश गरिसकेको छ, मन्त्रिपरिषद‍्बाट निर्णय हुनेबित्तिकै स्थायी आवासको पुनर्निर्माणका लागि कार्यविधि जारी गर्ने अवस्थामा पुग्ने र स्थायी आवास पुनर्निर्माण बाटोसमेत खुल्ने प्राधिकरणका सहसचिव भुसालले बताउनुभयो ।

त्यसअघि अस्थायी आवास लिएकाहरू वास्तविक लाभग्राही हुन् कि होइनन् भनेर यकिन गनुपर्ने हुन्छ । प्राधिकरणमा अहिले विभिन्न मन्त्रालयले बाढी–भूकम्पले क्षति गर्‍यो, पुनर्निर्माणका लागि पैसा चाहियो भनेर माग गरिरहेका छन् ।

भुसालका अनुसार २०७२ सालको भूकम्पमा एक सय ९७ वटा गैरसरकारी संस्थाले काम गरेका थिए । अहिले एक दर्जन पनि देखिएका छैनन् ।