जापानी गाडी निर्माण कम्पनीहरु होन्डा र निसानको मर्जर प्रक्रिया शुरू

काठमाण्डौ । जापानी अटो कम्पनीहरु होन्डा र निसानले एक अर्कामा गाभिने प्रक्रिया शुरू गरेका छन् । चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय गाडीसँग प्रतिस्पर्धा गर्न सकस परिरहेको सन्दर्भमा दुइ वटा कम्पनी एक अर्कामा गाभिने भएका हुन् ।

मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले हिजो हस्ताक्षर गरेका समाचारसंस्था एएफपीले जनाएको छ । होन्डाले नयाँ होल्डिङ कम्पनीको अध्यक्ष मनोनीत गर्नेछ । यसको बोर्ड प्रायः होन्डाका कार्यकारीहरू मिलेर बनेको हुनेछ ।

मर्ज भएर एकीकृत कारोबार शुरू भएपछि यो विश्वको अटो उद्योगमा तेस्रो ठूलो कम्पनी हुनेछ । जसले विद्युतीय गाडी र स्व–चालक प्रविधिको विकासलाई विस्तार गर्ने एएफपीले उल्लेख गरेको छ । अहिलेसम्म टोयोटा जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ । कमजोर उपभोक्ता खर्च र विभिन्न बजारमा कडा प्रतिस्पर्धाले धेरै गाडी निर्माताहरू समस्यामा पर्दै गएका छन् ।

गाडीको ठूलो बजार चीनमा विदेशी ब्रान्डहरूका लागि व्यवसाय कठिन भएको छ । चीनमा कम प्रदूषणकारी गाडीको माग बढ्दै जाँदा बिवाइडी जस्ता विद्युतीय गाडी निर्माताहरूले अगुवाइ गरिरहेका छन् । चीनले गएको वर्ष जापानलाई सबैभन्दा धेरै गाडी निर्यातकका रूपमा पछाडी पारेको छ ।