रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

काठमाण्डाै ।  पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

लामिछानेविरुद्ध फरक–फरक अभियोगमा छुट्टाछुट्टै तीन वटा आरोपपत्र दर्ता भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । तीन वटा छुट्टाछुट्टै अभियोगपत्र रहेकाेमा कुल चार सय २७ पेजको अभियाेजनापत्र रहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरेको हो । लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनुपर्ने सिफारिशसहित गएको सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया प्रालीमा सहकारीबाट आएको रकमको हकमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित जिम्मेवार रहने भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिश गरेको थियो । त्यही सिफारिशका आधारमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाण्डाैबाट पक्राउ गरेको हो ।

पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा १९ जनाविरुद्ध शुक्रवार थप अभियोजन दर्ता गराएको थियो ।