संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएको छ । सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताउनुभएको हो ।

उहाँले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्यूनतम कुराहरुको संशोधन हुने बताउनुभयो । उहाँले संयन्त्रले सुरुमा कांग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो ।

यस्तै, महामन्त्री थापाले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताउनुभयो । संसदलाई अझै समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने बताउनुभयो ।

महामन्त्री थापाले  २०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१-०८२-०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताउनुभयो । उहाँले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म निर्वाचनभन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको सुरुवात गर्न आवश्यक भएको बताउनुभयो । नेपाली काँग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा काँग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभयो ।

 २०८४ सालसम्म सरकार जम्मा एक पटक बदलिन्छ, त्यो सरकार बदलिँदै गर्दा प्रधानमन्त्री बदलिनुहुन्छ, अहिलेको समझदारी अनुसार । त्यसपछि यो ०८४ सालसम्म स्मोथली जान्छ । २०८४ को चुनावमा नेपाली काँग्रेस पार्टी देशभरी १६५ निर्वाचन क्षेत्रमा, प्रदेशमा ३३० स्थानमा, सबै नगरपालिका, वडामा एक्लै चुनाव लडने , चुनावको परिणाम जे आए पनि हुने उहाँले बातउनुभयो ।

महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने दाबी गर्नुभयो ।