जनताको अवस्था सुधार्न सरकारले प्रयासरत : उपप्रधानमन्त्री सिंह
काठमाण्डौ। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताउनुभयो ।
पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उहाँले प्रष्ट पार्नुभयो । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।
सडकमार्ग मार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गर्नुभएको चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गर्नुभयो । सडक निर्माण कार्य सुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उहाँले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताउनुभयो ।
उहाँले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिनुभयो । ‘‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बाग्मति प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुने उपप्रधानमन्त्री सिंहले बातउनुभयो ।
उहाँले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहेपनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरूरी हुने पनि बताउनुभयो । चुनावका क्रममा कुनै दलबाट उमेदवार बनेपनि जितेपछिजनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडिभन्दा बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिइरहेको बताउनुभयो । अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उहाँले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएपको बताउनुभयो । तर, नागरिकको चाहना अनुसार अझै काम गर्न बाँकी रहेको र त्यसमा सरकारले प्रयास गरिरहेको सिंहको भनाई थियो ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेश सभापति समेत रहनुभएका बाग्मति प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
सिंहले आज मकवानपुरको मनहरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नुहुनेछ । सिंह चन्द्रागिरी चित्लाङ सडक मार्ग हुँदै मनहरी नगरपालिका जानुभएको हो ।
सिंहसँगै उर्जा राज्यमन्त्री कान्छाराम तामाङ र नेपाली कांग्रेस बाग्मति प्रदेश सभापति बानियाँ पनि कार्यक्रममा सँगै सहभागी हुनुहुन्छ ।