“एमबिएमसी इ–स्पोर्ट्स प्रतियोगिता” दुइ दिनसम्म सञ्चालन हुने

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार दुई दिने “एमबिएमसी इ–स्पोर्ट्स प्रतियोगिता” आयोजना गरेको छ । कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ । कलेजमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको यस प्रतियोगितामा डिजिटल खेलहरूको प्रतिस्पर्धा भइरहेको छ ।

कार्यक्रमको सुभारम्भ गर्दै कलेजका प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीहरुको रुची टेक्नोलोजिकल गेम्सहरुमा बढ्नु समयको माग भएको बताउनुभयो । ग्लोबल एरेनामा पनि मानिसहरुको रुचि यस्ता गेमहरुमा बढ्दै गएको अवस्थामा विद्यार्थीहरुको रुचिलाई कलेजले प्रतिस्पर्धाको रुपमा एउटा प्लाटफर्म सिर्जना गरेको उहाँको भनाइ छ । प्रतिस्पर्धालाई अनुशासित ढंगले कसैको भावनामा ठेस नपुग्नेगरि सञ्चालन गर्न प्रमुख डा. अधिकारीले सबैलाई शुभकामना दिनुभयो ।

अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुरागाईका अनुसार, यस इ–स्पोर्ट्स प्रतियोगितामा विद्यार्थीहरू मोबाइल, कम्प्युटर, ल्यापटप र अन्य प्राविधिक उपकरणहरूको मद्दतले चार प्रमुख इ–गेमहरूमा प्रतिस्पर्धा गर्दैछन् । ती खेलहरूमा फिफा, मोबाइल लेजेण्ड्स, फ्रीफायर र पब्जी समावेश छन् । गुरागाईका अनुसार, यस्ता इ–गेमहरूले विद्यार्थीहरूको प्राविधिक ज्ञानको विकास, टीम वर्क र रणनीतिक सोचलाई प्रोत्साहन गर्छ । साथै, प्रतियोगिता विद्यार्थीहरूको लागि न केवल एक रमाइलो अवसर हो, तर यसले उनीहरूलाई डिजिटल युगमा आवश्यक पर्ने क्षमता विकास गर्नमा पनि योगदान पुर्‍याउँछ ।

करीब १५० जना विद्यार्थीहरूले यस प्रतियोगितामा व्यक्तिगत र समूहगत रूपमा दुई विधामा प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगिताले कलेजका विद्यार्थीहरूलाई नयाँ अनुभव, उनीहरूको आत्मविश्वास र क्षमता बढाउने विश्वास छ ।