दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेश गर्न निर्देशन

काठमाण्डौ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेश गर्नका लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको समिति बैठकले संसदको हिउँदे अधिवेशनभित्र संसदमा विधेयक पेश गर्नेगरी गृहकार्यमा जुट्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिनुहुँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने जानकारी दिनुभयो ।

समितिमा पेस भएको संसदको प्रस्ताव कार्यान्वयन उपसमितिको प्रतिवेदन सुझावसहित राष्ट्रिय सभामा छलफलका लागि पेश गर्ने सभापति पन्तले बातउनुभयो ।

नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दलितका अधिकार तथा विकासका सम्बन्धी विधेयक संसदमा पेश गर्नका लागि आवश्यक गृहकार्य अघि बढाउनेबारे निर्देशन दिने र कति दिनमा गर्ने भन्नेकुरा चाहीँ संसदको आउँदो अधिवेशनमा नै विधेयक पेश गर्ने गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने बातउनुभयो ।

उहाँले ऐन निर्माण गर्ने निकाय संसदीय समिति नभएको समेत स्पष्ट पार्नुभयो । दलित समुदायहरुमाथि राजनीति भइरहेको भन्नुहुँदै उहाँले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताउनुभयो ।

बैठकमा दलित समुदायको अधिाकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयनको अनुगमन उपसमितिबाट प्राप्त प्रतिवेदन उपर छलफल भएको छ ।