वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने २ जना पक्राउ

काठमायडौ। वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पोल्याण्ड पठाउने भनी छ लाख ३० हजार रुपैयाँ ठगी गर्ने ३८ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन्।

स्थायी घर धनुषाको गणेशमान चारधाम नगरपालिका-४ भइ हाल काठमाण्डौ गोकर्णेश्वर बस्ने चौधरीले २ जनाबाट सो रकम लिइ सम्पर्कबिहीन बनेको प्रहरीले जनाएको छ।

यसैगरी, स्थायी घर धनुषा भएर हाल काठमाण्डौ बस्ने ३९ वर्षीय रुपेशकुमार चौधरीले सिंगापुर पठाउने भनी १६ लाख रुपैयाँ लिइ सम्पर्कबिहीन बनेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

यस्तै, काठमाण्डौ  जिल्ला अदालत बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका ४० वर्षीय विशाल कुमार चौधरी पक्राउ परेका छन्। प्रहरीका अनुसार चौधरी काठमाडौं जिल्ला अदालतबाट ५० लाख रुपियाँ बिगो बराबरको मुद्दामा फरार रहेका थिए।

स्थायी घर कञ्चनपुरको साविक गाविस वडा नम्बर ३ घर भइ हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर २९ अनामनगर बस्ने चौधरीलाई शंखमुलबाट पक्राउ परी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।