६८ लाख नगदसहित ४ जना पक्राउ
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैँयासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रुपैँयासहित भारत महाराजगञ्ज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अङ्गदकुमार गुप्तालाई हिजो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले लु.८८ प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।