फ्रान्सको मेयोट क्षेत्रमा शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गयो
फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गएको छ । झन्डै १ सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ ।
आँधीको समयमा हावाको वेग २ सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका नागरिकको साथमा रहेर सहयोग गर्ने बताउनुभएको छ । उद्धारका लागि २ सय ५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको खबरमा उल्लेख छ ।
आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सन् १९३४ देखि मेयोटमा यति तिब्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताउनुभएको छ ।
एजेन्सी